2024-08-02 12:30:29
पूर्व सभापति बाबुकाजी साँछें श्रेष्ठ र कार्यालय सचिव हिरण्य प्रताप सागामीलाई सम्मान
भक्तपुर श्रावण १८ गते २०८१
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवसको अवसरमा पूर्व सभापति बाबुकाजी श्रेष्ठ र कार्यालय सचिव हिरण्य प्रताप सागामीलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
भक्तपुरमा भएको कार्यक्रममा समानितद्धयलाई प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्र गोपाल कर्माचार्यले दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्रेष्ठको कार्यकाल पूर्ण सफलतापूर्वक जिम्मेवारी पूरा गर्नु भएकोले सम्मान गरेको हो ।

सम्मान पत्र ग्रहण गर्दै साँछें श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई संस्थागत विकास, आर्थिक सबलीकरण, अक्षयकोष स्थापना र पुरस्कारको व्यवस्था गरिएको जानकारी दिनुभयो । आफ्नो कार्यकालमा सबैसँग सहकार्य गरी नयाँ ढङ्गले क्षयरोग नियन्त्रणका कार्यक्रमहरू गरि भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउने अभियान समेत थालेको बताउँदै क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा निरन्तर तिन दशक भन्दा बढी कर्मचारीको रूपमा सेवा गर्नु भएको कार्यालय सचिव हिरण्य प्रताप सागामीलाई निवृत्त सम्मान गरिएको थियो भने कर्मचारी उपदान रकम समेत हस्तान्तरण गरिएको थियो । सम्मान ग्रहण पश्चात सागामीले भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण गर्न हरबखत लागि परेको र पछिसम्मयसलाई निरन्तरता दिई रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य एवं उपत्यका इन्चार्ज महेन्द्र गोपाल कर्माचार्यले भक्तपुर शाखा अरू शाखाहरू भन्दा अग्रणीमा रहेको बताउँदै भक्तपुर शाखाको गतिविधिको प्रशंसा गर्नुभयो । नेपालको एक माात्र क्षयरोग अस्पताल कालीमाटीमा सञ्चालित अस्पतालमा उपचाररत क्षयरोगी बिरामीहरूलाई खानाको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरेको बताउनुभयो ।

कार्यक्रम संस्थाका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने निवर्तमान सभापति राम सिख्वःले धन्यवाद ज्ञापन गर्नुभयो ।











0 Comments