2024-04-11 05:15:48
गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लिले करिव ९ सय बचतकर्ताको २७ करोडभन्दा बढि रकम अपचलन ।
मध्यपुर थिमि, चैत २८ गते २०८०
मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लिले करिव ९ सय बचतकर्ताको २७ करोडभन्दा बढि रकम अपचलन गरि विगत ९ महिनादेखि सञ्चालकहरू फरार रहेको पाईयो । मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलो पटक बुधवारबाट अनुगमन शुरु गरेको छ । पहिलो दिन वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.को स्थलगत अनुगमन गरेको छ । नगरउपप्रमुख तथा स्थलगत अनुगमन तथा समन्वय समितिका संयोजक बिजयकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलीले उक्त सहकारीको स्थलगत अनुगमन गर्दा सहकारीको मुख्य ढोकामा ताला लगाईराखेको र कोही पनि कर्मचारी एवं पदाधिकारीहरू उपस्थिति नभएको पाईएको थियो । नगरउपप्रमुख श्रेष्ठले सोही स्थानबाट केही पदाधकारीहरूलाई फोन सम्पर्क गर्दा पदाधिकारीहरू एक आपसमा पन्छिन खोजेको जानकारी दिनु भया। सञ्चारकर्मीहरुसंग कुरा गर्दै उपप्रमुख तथा संयोजक श्रेष्ठले उक्त सहकारी लामो समयदेखि बन्द रहेको र सदस्यहरूलाई पैसा फिर्ता नदिएको ब्यापक जनगुनासो आए पछि स्थलगत अनुगमन गरेको बताउनुभयो । उहाँले उक्त संस्थाको यस अघि नै विभिन्न स्थानमा रहेको सम्पति समेत नगरपालिकाले रोक्का गरिसकेको भन्दै अब केही दिनपछि नगरभित्रका अन्य सहकारीहरूको पनि अनुगमन गर्ने तयारी भईरहेको बताउनुभयो ।
नगरपालिकाका सहकारी शाखाका शाखा अधिकृत सुरेशकुमार राईले उक्त सहकारी संस्थाले करिव ९ सय बचतकर्ताको २७ करोडभन्दा बढि रकम अपचलन गरि विगत ९ महिनादेखि सञ्चालकहरू सम्पर्कबिहिन रहेको बताउनुभयो । बुधवार गरेको अनुगमन टोलीमा स्थलगत अनुगमन तथा समन्वय समितिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नं.३ का वडाध्यक्ष कृष्णहरि आचार्य, नगरसभा सदस्यहरू शेखर थापा मगर, मदनकृष्ण ख्या श्रेष्ठ, अरूणा कारंजित, सहकारीकर्मी केदार खड्का, सुबरत्न मानन्धर, समितिका सदस्य सचिव अभयन्द्र रंजित, मध्यपुर पोष्टका सञ्चारकर्मी रामकृष्ण शंखदेव, शाखा प्रमुख राई, प्रहरी बृत्त थिमिका उपेन्द्रकुमार यादव र भवानी पराजुलीलगायतका ब्यक्तिहरू सहभागी रहेका छन् ।










0 Comments