2024-01-30 07:27:13
नगरपालिकाको क्षमता मूल्यांकनमा भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुर थिमि पहिलो भएको छ ।
भक्तपुर, माघ १६ गते २०८०
भक्तपुर जिल्लाको चार वटा नगरपालिका मध्ये मध्यपुर थिमि नगरपालिका क्षमता मूल्यांकनमा पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको नतिजामा मध्यपुर थिमि भक्तपुर जिल्लामा पहिलो भएको हो । सो मूल्यांकनको नतिजा अनुसार मध्यपुर थिमि नगरपालिका ८७.५ प्रतिशत अंक ल्याई जिल्लाको चार नगरपालिकामध्ये पहिलो बन्न सफल भएको हो । दोस्रोमा चाँगुनारायण नगरपालिकाले ८५ प्रतिशत अंक ल्याएको छ । त्यस्तै तेस्रोमा सूर्यविनायक ८४.२५ प्रतिशत रहेको छ भने चौथोमा भक्तपुर नगरपालिकाको ७५.७५ प्रतिशत रहेको महाशाखाको नतिजाले देखाएको छ । यसअघि मध्यपुर थिमि नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि उत्कृष्ट अंकका साथ देशभर छैंठौं र भक्तपुर जिल्लामा पहिलो बन्न सफल भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मध्यपुर थिमि १०० पूर्णाङ्कमा ७९.५ अंकका साथ भक्तपुरका चार नगरपालिका मध्ये पहिलो बन्न सफल भएको हो ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।
ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अङ्क निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । यी सूचकहरूको मूल्याङ्कन गर्न समग्र अवस्थाका प्रत्येक सूचकमा चार अवस्थाहरू राखिएका छन् भने प्रक्रियागत र परिमाणात्मक अवस्थाका सूचकहरूमा तीन तीन वटा अवस्थाहरू राखिएका छन् ।
यी अवस्थाहरू मध्ये अन्तिम अवस्था सबैभन्दा राम्रो अवस्था हो भने पहिलो, दोस्रो र तेस्रो अवस्थाले क्रमशः कमजोरबाट सुधार हुँदै गएको अवस्थालाई जनाउँछ । स्थानीय तहले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
यो मूल्यांकनले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न र स्थानीय तहहरूको बीचमा तुलना योग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवर्द्धन गर्न सुधारात्मक पक्ष तथा चुनौतीको पहिचान गरी नीतिगत कार्य योजना तयार गरी कार्यान्वयन गर्नु नै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको मुख्य उद्देश्य रहेका छन् ।











0 Comments