2023-09-09 13:08:24
सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
भक्तपुर, भदौ २३ गते २०८०
भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभयो । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको ११ औं साधारणसभामा सांसद थापाले चुनावमा राजनीति प्रतिष्पर्धा गरेपनि विकास निर्माणमा राजनीतिक दल र जनप्रतिनिधिहरुले सहकार्य गरी एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले विकास निर्माणका कामलाई कसैले जादुको छडी घुमाएर गरे जस्तो एउटा राजनीतिक दल र त्यसका नेताको नाम मात्र जोड्ने हो भने ती भ्रममा मात्र हुने र उनीहरुले सच्चिन जरुरी रहेको बताउनुभयो । कसैले विकास मेरो पालामा मात्र भएको हो भन्छ भने ती सबै भ्रम मात्र हुनेछ किनकी विकास निर्माण निरन्तर चलिरहन्छ भनुभयो । यसो भन्दा हामीले रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, जगनाथ आचार्यलाई पनि भुल्न हुँदैन सासंद थापाले भन्नुभयो ।

उहाँले निर्वाचनमा आ–आफ्नो दलको तर्फबाट उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि सबैको जनप्रतिनिधिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले नेतृत्व लिएर स्थानीय समस्या पहिचान गरी विकास निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदैं माननीय थापाले खानेपानी, शिक्षा, स्वास्थ्य, सडकका पुर्वाधार विकासमा तीनै तहका सरकारको समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले खानेपानी जस्तो अत्यावश्यक वस्तु वितरण गर्ने उपभोक्ता समितिमा राजनीतिकरण भए आफु पनि चुप लाएर नबस्ने बताउनुभयो । म यो खानेपानी समितिको संस्थापक उपाध्यक्ष पनि हुँ । उपभोक्ता पनि हुँ र अहिले सांसद पनि छु भन्दै खानेपानी जस्तो पवित्र स्थानमा राजनीति गर्नु उचित ठाउँ होइन भनुभयो । सकेसम्म सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नुपर्छ भन्दै होइन भने लोकतान्त्रिक विधिअनुसार स्वस्थ र स्वच्छ प्रतिष्पर्धा मार्फत नेतृत्व चयन गर्नुपर्छ उहाँले भन्नुभयो । उहाँले तत्कालिन काकाकुल अवस्थामा रहेको कटुञ्जेलाई स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले शुरु गरिएको योजनाले आज ६ वटा डिपवोरिङको स्रोतमार्फत २ हजार ६६० धारा वितरण गरेर सेवा प्रदान गर्नु आफैंमा ठूलो उपलब्धी भएको पनि बताउनुभयो । यो उपलब्धी हासिल हुनुमा संस्थापक अध्यक्ष रामेश्वर ढुंगेलदेखी विगतको नेतृत्वले गरेका काम र योगदानलाई भुल्न नहुनेमा पनि जोड दिनुभयो । प्राविधिकरुपमा आउने समस्या र गुनासोलाई पनि यथासक्य छिटो समाधान गरेर अघि बढ्नुपर्छ उहाँले भन्नुभयो । त्यस्तै कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापाले बढ्दो शहरीकरण र बसाईसराई १० वर्षमा जनसंख्या दोब्वर बृद्धि भएको अवस्थामा सूर्यविनायक नगरपालिकाका अधिकांश स्थानमा खानेपानीको समस्या रहेको बताउँदैं स्थानीय रुपमा प्राप्त स्रोतको उचित परिचालन गरी पानी वितरणको व्यवस्था मिलाउने र थप योजना बिस्तार र मेलम्चीको पानी सूर्यविनायकमा वितरणलगायतका कार्यमा हातेमालो गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो ।
त्यस्तै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले तीन तहका सरकारको समन्वय र सहकार्यमा सूर्यविनायक नगरभित्र एक घर एक धारा वितरण गर्ने नीति लिएको जानकारी गर्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको १ देखी ६ वडासम्म मेलम्चीको पानी वितरणका लागि नगरपालिका र केयुकेएलबीच ६०–४० को मोडलमा पाइपलाइन बिस्तारको लागि टेण्डर आह्वान भइसकेको र सो योजना निर्माण भएपछि खानेपानीको वितरण सहज हुने अपेक्षा राख्नुभयो ।
समितिका अध्यक्ष श्रीकृष्ण बासुले प्रतिवेदन प्रस्तुत गर्दै विहान बेलुका गरी करिव ३० हजार जनालाई प्रत्यक्ष अप्रत्यक्ष खानेपानी सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
सभामा समितिका सचिव अनिल गुमान्जु कार्यक्रम संचालन गर्नु भएको थियो भने कोषाध्यक्ष कमल प्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । समितिको नयाँ कार्यसमिति चयनका लागि यही असोज ६ गते निर्वाचन हुने समितिका कार्यालय प्रमुख रञ्जन ढुंगेलले जानकारी दिनुभयो ।











0 Comments