2023-07-16 08:20:15
प्रदेश पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै बागमती प्रदेश सदस्य श्रेष्ठ र नगर प्रमुख खत्री ।
भक्तपुर असार ३१ गते २०८०
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गर्नुभएको छ ।
मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट चाँगुनारायण क्षेत्रका ८० प्रतिशत गाई सङ्क्रमित भएको र समग्र भक्तपुरमा ७५ प्रतिशत भन्दा बढी गाई सङ्क्रमित भएको सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभएको थियो । उहाँले साना किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेसा नै धरापमा परेको भन्दै किसानहरूका लागि राहत प्याकेज ल्याउनु पर्ने माग गर्नुभएको थियो ।
एउटा गाई खरिद गर्न एक लाख भन्दा बढी पर्छ साना किसानले दुई चार वटा पालेका गाई बाछा भटाभट सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै लागेको उहाँले बताउनुभएको थियो। भक्तपुर जिल्लामा धेरै गाई पालन गर्ने किसान चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा धेरै रहेको थोरै मात्रामा भक्तपुर अनि मध्यपुर थिमी नगरपालिकाका किसान लम्पी स्किनबाट प्रभावित भएको उहाँले जानकारी गराउनुभएको थियो ।
भूगोलको हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत गाईमा सङ्क्रमण फैलिएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले मन्त्री श्रेष्ठलाई जानकारी दिनुभएको थियो । हाल सम्म चाँगुनारायणमा मात्र हजार भन्दा बढी गाईको मृत्यु भई सकेको समेत उहाँले जानकारी दिनुभएको छ । टोल टोलमा गाई व्यवस्थापन गर्न समस्या नै आई सकेको बताउँदै उहाँले गाई फाम सञ्चालन गर्नेहरूको अझ ठुलो बिजोग भएको मेयर खत्रीले बताउनुभयो । आफ्नो नगरमा ६० प्रतिशत भन्दा बढी किसानले गाई पालन गर्दै आएको बताउँदै मेयर खत्रीले उनीहरूको सपना लम्पी स्किनको सङ्क्रमणले सखाप बनाएको बताउनुभयो । नगरपालिकाले रोग नियन्त्रणका लागि प्रचार प्रसार देखि खोप कार्यक्रमका लागि नगरबाट १० लाख रकम विनियोजन गरी रोग नियन्त्रण तथा खोप कार्यक्रम गर्दै आएको समेत प्रमुख खत्रीले जानकारी दिनुभयो ।
खोप जनचेतना दिँदा दिँदै पनि यो रोगका कारण नगरका अधिकांश किसान पेसाबाट नै विस्थापित हुने अवस्थामा पुगेका कारण उनीहरूलाई राहत स्वरूप प्रदेश सरकारले केही प्याकेजका रूपमा प्रदान गर्नु पर्ने उहाँको पनि माग रहेको थियो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले रोगको विषयमा आफूलाई जानकारी भएको तर यस्तो भयावह अवस्थामा भक्तपुर पुगेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले राहत स्वरूप के गर्न सक्छ आफूले क्याबिनेटमा राखेर राहत प्याकेज ल्याउनका लागि लागी पर्ने समेत बताउँनुभयो । उहाँले रोग रोकथामका लागि चाँगुनारायणमा प्रदेशले १५०० डोज खोप पठाएको र थप चाहिएमा खोप तथा प्राविधिक सेवा दिन आफूहरू २४ घण्टा नै सक्रिय रहेको समेत उहाँले जानकारी दिनुभयो ।











0 Comments