2023-07-11 13:13:07
थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग ।
भक्तपुर असार २६ गते २०८०
मध्यपुर थिमिमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्तोरन्नतीका लागि कोरिया सरकारबाट ९ दशमलव ५ मिलियन डलर अर्थात १ अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ । विपन्न वर्गका नागरिकहरुको विश्वव्यापी स्वास्थ्य पुहँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत दक्षिण कोरियाली सरकारले अस्पताललाई आर्थिक सहायता प्रदान गरेको हो । सो सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र दक्षिण कोरिया सरकारका तर्फबाट नेपालस्थित कोरियाली राजदुत पार्क ते–योङले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदी, नेपाल कोरिाय मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशन, कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । उक्त रकम गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने र भक्तपुरमा विश्व्व्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथै कोइका मार्फ ५ वर्ष (सन् २०२७ सम्म्मा पुरा हुने) यस योजनाका लागि ९.५ अमेरिकी डलर खर्च गरिनेछ । सो सहयोगबाट कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नती गरी अस्पतालको सँगैको जग्गामा १५० शैयाको अस्पताल भवन निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीहरुको क्षमता विकास गर्नेछ । यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछ ।
_1689081167.jpg)
सम्झौता पश्चात मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कोरियाली सरकारको सहयोगले मध्यपुर थिमि नगरबासी मात्र नभई भक्तपुर जिल्ला र आसपासका जिल्ला बासीले समेत गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्दै आएको बताउनुभयो । उहाँले यस चालु आर्थिक वर्ष मात्रै नगरपालिकाले अस्पतालको स्तरबृद्धिका लागि १३ करोड रुपैंया खर्च गरेको जानकारी दिँदैं थप सहयोगले यहाँका जनता थप लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा सिटी स्क्यान मेसिन जडान भइसकेको, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको र अस्पतालको उत्कृष्ट सेवाकै कारण दैनिक ८ सयको हाराहारीमा सेवाग्रहीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरियाली सरकारको सहयोग स्वीकार गर्दै कोरिया नेपालको निकै नजिकको विकास साझेदारको रुपमा रहँदै आएको बताउँदै उहाँले दुई देशबीचको जनस्तरको सम्बन्धको प्रशंसा समेत गर्नुभयो ।
कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरु कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धी रहेको बताउनुभयो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणको विकासले सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने र भक्तपुर लगायत आसपासका जिल्लाका गरिव तथा जोखिममा परेका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच हुने बताउनुभयो ।
राजदुत पार्क ते–योङले अस्पताल सर्वसाधारणका लागि निक्कै उपयोगी हुने बताउँदैं यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सो कार्यक्रममा नेपाल र कोरियाबीचको द्धिपक्षीय कुटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाउन ईच्छुक भएको जनाउनुभयो ।
अर्थ सचिव अर्जुनप्रसाद पोखरेलले दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिबृद्धि गर्ने साझेदारीका लागि गणतन्त्र कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यस आयोजनालाई सफल कार्यान्वयनका लागि पूर्णरुपमा सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले भविष्यमा पनि दुई देशबीच यस्तै सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।











0 Comments