2023-06-16 11:24:47
भक्तपुर दरबार क्षेत्रमा रहेको अर्काे एउटा दरबार थन्थु दरबार पुनःनिर्माणबारे छलफल
भक्तपुर । २०८० असार १ गते, शुक्रवार
भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा जेठ ३२ गते बिहिवार पुनःनिर्माणका लागि बैठक बसेका छ ।
उक्त बैठकमा २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेको बताउँदै नगर प्रमुख प्रजापतिले यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको शिलु महादेव मन्दिरको
पश्चिम पटि रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने योजनाअनुरुप बहुवर्षीय योजनाको रुपमा समावेश गरिएको जानकारी दिनुभएको थियो ।
थन्थु दरबार उत्खनन्का क्रममा भेटिएका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको दस्तावेजीकरणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले थन्थु दरबारलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न समिति प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
बैठकमा दरबार क्षेत्रस्थित ऐतिहासिक उक्त थन्थु दरबार पुनःनिर्माण गर्ने कार्य स्विकृत नक्सा डिजाइन अनुसार अगाडि बढाउने निर्णय ग¥यो ।
पुनःनिर्माणको क्रममा भेटिने ऐतिहासिक एवं पुरातात्विक महत्वका संवेदनशील सामग्रीहरुको अभिलेख भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भक्तपुर र पुरातत्व विभाग, दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, भक्तपुरमा सुरक्षित राख्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकले थन्थु दरबार पुनःनिर्माणको क्रममा आवश्यक सुरक्षाको बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरले गर्ने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरुणा नकर्मी, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ, प्राध्यापक प्रेमनाथ मास्के, इ. सरोज वैद्यलगायतले थन्थु दरबारको इतिहास, महत्व र योगदानबारे आ–आफ्नो विचार राख्नुभयो ।
सोही क्रममा थन्थु दरबार पुनःनिर्माणका आयोजना प्रमुख विजयराम कोजुले दरबारको अहिलेसम्मको अवस्था र आगामी योजनाबारे प्रस्तुतीकरण देखाएको थियो ।
थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिमा भक्तपुर नपाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, संस्कृतिविद्लगायतको प्रतिनिधित्व रहेको गियो ।










0 Comments