हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, ११ असोज । विश्व पर्यटन दिवस(२७ सेप्टेम्बर) को अवसरमा चाँगुनारायण नगरपालिकाले पदयात्रा गरेको छ ।

नगरमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सामाजिक र प्राकृतिक सम्पदालाई चिनाउनका लागि ‘रिथिंकिङ टुरिजम’को नारासहित मंगलबार एक दिवसीय पदयात्रा गरेको हो ।

चाँगुनारायण नगरपालिकाको दहकुस्थित नगरपालिका कार्यालयबाट सुरु भई सुडालको कलमसीमा पुगेर टुङ्गिएको सो पदयात्राको नेतृत्व नगरप्रमुख जीवन खत्रीले गरेका थिए ।

उनले पदयात्राको सुरुको गन्तव्यदेखि अन्तिमको गन्तव्यसम्म नेतृत्व गरेका थिए । नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, प्रकृतिप्रेमी तथा सञ्चारकर्मीहरुको सहभागितामा सो पदयात्रा कार्यक्रम गरिएको हो । यात्रामा सहभागीहरुले करिब ४ घन्टामा अन्दाजी १० किलोमिटरको यात्रा गरेका थिए ।

उनीहरुले यात्राको क्रममा चाँगुनारायण नगरपालिका वडा नं ७ (बागेश्वरी) र वडा नं ८(सुडाल) को संगमस्थलमा रहेको मणिकर्णिका घाट, वडा नं. ७ मै रहेको बाल्मिकेश्वर महादेव मन्दिर परिसर, चरेली, सुडालको थाकलमाथ, ल्हासापाको ससुद्यः(सरस्वतीस्थान), झाप्रो झरना, कलमसी, र कल्पेश्वर मन्दिरको अध्ययन र अवलोकन गरेका थिए ।

प्राकृतिक वातावरणको आनन्द लिँदै, चराचुरुङ्गीहरुको चिरबिरचिरबिर सुन्दै, वीराभद्रा, चम्पा खोलाको कलकल र झाप्रो झरनाको झरझरमा रमाउँदै पदयात्रीहरुले त्यहाँको भूगोललाई नजिकबाट अनुभव गरेका थिए ।

कतै पीच गरिएका सडक, कतै ढलान गरिएका सडक, कतै भर्खर भर्खर ग्राभेल ओछ्याएको सडक, कतै भने खाल्डाखुल्डीमा पानी जमेर बसेको सडक, कतै हिलाम्य सडक । कहिले समथर(टार), अघिकांश भने उकालो सडक, गोरेटो हुँदै पदयात्रामा सहभागीहरु गन्तव्यसम्म पुगेका थिए ।

प्राकृतिक वातावरण, रुखविरुवा, फूलेका फूलहरुको दृष्यपानमात्र नभएर पँहेलिँदै गइरहेको धानको फाँट, अनि चाँदी झै चम्किएका टनेल खेती यस्तै दृष्य हेर्दै, मन आनन्दित गर्दै यात्रा अघि बढ्दा छुट्टै आनन्दको अनुभूति भएको पदयात्रामा सहभागीहरुले भने ।

यात्राकै क्रममा भएका रमाइला कुराकानीले यात्रालाई अझ गज्जब बनाएको थियो । मणिकर्णिका घाटसकिएपछि सुरु हुने उकालो, एउटा आदिम वस्तीको रुपमा रहेको नयाँजू टोल, त्यसकै सिरानमा बाल्किमेश्वर मन्दिर । उकालै भए पनि यात्रीहरुले थकाइको भान गरेनन् । बाल्मिकेश्वर पुग्दा त्यहाँको शितल हावाले गरेको स्वागत, विछट्टै अनुपम थियो । धार्मिक, साँस्कृृतिक र ऐतिहासिक अनि त्यहाँको जनििजविकाको हिसाबले महत्वपूर्ण बाल्मिकेश्वर मन्दिर परिसरको सुध्रिएको वातावरणले जोकोहीलाई पनि लठ्ठ बनाउने सोही वडाका वडा अध्यक्ष श्याम नायजूले बताए ।

ठाउँठाउँमा पुग्दा सो ठाउँमो महत्व र विशेषता सबैसामु छर्लङ् बनाइदिएर अझ यात्रालाई पूर्ण बनाउने काम हुँदा यात्रामा लागेको थकान कम हुने र दुखेको खुट्टा समेत नदुख्ने ओखतीको काम गरेको अनुभव यात्रीहरुले गरेका थिए ।

यात्रामै सहभाग चाँगुनारायण नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले यात्रा निक्कै अनुपम रहेको बताए । बाल्मिकेश्वर मन्दिर परिसरमा एकछिन थकान मेटदै उनले यात्राले दिने आनन्द शब्दमा बयान गर्न नसकिने बताए । उनले मात्र हैन, स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाल र चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले स्वास्थ्यका लागि पदयात्रा जरुरी रहेको यात्राकै क्रममा सुनाए ।

वडा अध्यक्ष त्यातले पदयात्रा मार्फत् दोहोरो उपलब्धि मिलेको बताए । उनले भने, ‘यसले एकातिर स्वास्थ्यलाई राम्रो गर्ने भो, अर्को चाहिँ हाम्रो नगरका विभिन्न ठाउँमा रहेका सम्पदाहरुको, मठमन्दिरहरुको परिचयबारे थाहा पाउने अवसर मिलेको छ, यसैले यस्ता कार्यक्रमलाई नियमित रुपमा अघि बढाउनुपर्छ ।’

साँच्चै उनले भनेजस्तै यात्रा उपलब्धिमूलक नै रहेको धेरैको निश्कर्ष छ तर यात्राकै क्रममा सुडालको थाकलमठको अवस्थाले भने धेरैको मन खिन्न भएको छ । यतिमात्र हैन, नगरपालिकामा रहेका प्राकृतिक सम्पदाहरुको उपयोगका लागि खासै काम नभएको देख्दा कतिपयको मन अमिलिएको छ ।

त्यो कारणले मात्र नभई वडाका विभिन्न ठाउँमा मनपरी रुपमा गरिएका जग्गा प्लटिङको सिकारमा परेका ‘भूमिको बिजोग’ले धेरैको मन कुँडिएको छ ।

जेजस्तो भए पनि यात्रामा कोही फोटोमा रमाए, कोही सेल्फीमा । यात्रामा मज्जा लिएको दृष्य त्यसैबाट थाहा हुन्छ ।

ठिङ्ग्रिङ्ग उभिएका मकैको ढोडहरुको लस्कर, त्यही लस्कर भएको बारीमा झ्याम्मिदै गएका आलुको हरियो बोट : कलमसीको नयाँ परिचय । त्यही परिचय भएको ठाउँबाट देखिने आधा भक्तपुरको दृष्य, टाढाको सूर्यविनायक जंगल, मालिगाउँ, खाल्चोक, रानीकोट, चाँगुनारायण मन्दिरको जंगल ।

नागबेली बनेका सडक, सडक छेउका घरहरु । घरका आँगन र बारीमा लटरम्म भोगते फलेर झुकिरहेका रुखहरु, पाकेको अम्बा, पाक्ने तरखरमा पुगेको लप्सी अनि सुनौला हलुवाबेद र ठाउँठाउँमा स्कुस घारी । तहतह परेको खेतमा झुलेका धान, रोपिएका आलु । यो दृष्यले उकालो चढ्दै गर्दा बढेको दमलाई पनि कम गर्दिँदो रहेछ ।

त्यही दृष्यमा मक्खिए, पदयात्रीहरु ।

विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक र पुरातात्विक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिर, विश्वमै प्रख्याति कमाएको नगरकोट तथा विश्वकै दुर्लभ अभिलेखका रुपमा रहेको चट्टान अभिलेखजस्ता सम्पदाहरुले पूर्ण चाँगुनारायण नगरपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन पर्यटन दिवसको अवसरमा सो कार्यक्रम गरिएको नगरपालिकाका नगरप्रमुख खत्रीले बताए ।

उनले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने नीति तथा कार्यक्रम तय गरिएको बताउँदै सोही कार्यक्रमको आधारशिला बनाउनका लागि उक्त कार्यक्रम गरिएको बताए ।

उनले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेको चर्चा गर्दै पर्यटनलाई मानिसको दैनिकीसँग जोड्न जरुरी रहेकाले सोही अनुसार नगरपालिकाले नीति बनाएको समेत बताए ।

चाँगुनारायणमा रहेका थुप्रै पर्यटकीय गन्तव्यहरुमध्ये वडा नं. ७ र ८ का सम्पदाहरुको पहिचानका लागि र त्यसको सम्वद्र्धन र प्रवद्र्धनका लागि सो कार्यक्रम गरिएको नगरपालिकाको पर्यटन शाखाकी अधिकृत सन्तोषी नेपालीले बताइन् । उनले पर्यटनको विकासका लागि सो पदयात्रा फलदायी भएको पनि बताइन् ।

यात्रामा सहभागीहरुले यात्रा उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए । यात्राको नेतृत्व गरेका नगर प्रमुख खत्रीको हिँडाइको गति देखेर, अनुभव गरेर धेरैले उनको प्रशंसा समेत गर्दै भनेका थिए, ‘अब नगरपालिका मेयरसँगै अघि बढ्ने लक्षण देखियो ।’
जवाफमा व्यङ्ग्यात्मक रुपमा नगर प्रमुख खत्री भन्छन्, ‘मान्छेलाई पछि आउने बनाउन आफू अघि लाग्ने हो, अन्याय भए त ….।’

र, अन्तिममा रत्नागिरी रिसोर्टमा खाना खाएर पदयात्रा सम्पन्न भयो ।

स्रोत= भक्तपुर टायम्स बाट हरि सुन्दर छुकां .




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).