हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

मध्यपुर असोज ७ गते २०७९
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा वडा व्यापी लिग फुटबल प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले मध्यपुर युथ एशोसियसनको संयोजनमा ‘मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा नगरपालिकाको प्रत्येक वडाबाट एउटा टिम सहभागी हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक हरिदास प्रजापतिले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनु पर्नेछ । टोलीमा मध्यपुर थिमि बाहिरका खेलाडी समावेश गराईने छनै । जुन वडामा  खेलाडीको स्थायी बसोबास छ सोही वडाबाट खेल्नुपर्ने व्यवस्था गरिएको प्रजापतिले जानकारी दिनुभयो । 
नगरपालिकाले विभिन्न समयमा विभिन्न खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका स्वय्मले कुनै खेल प्रतियोगिताको रुपमा ‘मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ आयोजना गर्न लागेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउँनुभयो । नगर प्रमुख श्रेष्ठले लिगबाट उत्कृष्ट खेलाडी छनोटगरी नगरपालिका टिम गठन गर्ने जानकारी समेत दिनुभयो ।
त्यस्तै उपप्रमुख विजयकृष्ण श्रेष्ठले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले खेलमा लगानी गरेको बताउँदै यसलाई निरन्तर सञ्चालन गर्ने जानकारी पनि दिनुभयो । 
प्रतियोगितामा प्रत्येक वडाबाट एक एक गरि ९ वटा टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेल खेलाईनेछ । प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्नु पर्नेछ । एक महिनासम्म सञ्चालन हुने प्रतियोगिता यही असोज ८ गतेबाट शुरु भई कार्तिक ७ गते सम्पन्न हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुन सक्छ । 
लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुनेले एक लाख २५ हजार र तृतिय हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ ।
प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएकोछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ ।
प्रतियोगिताको कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई आयोजकले टिम तयारी स्वरुप जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको र्दुघटना बिमा गरिएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य मध्यपुर थिमिमा फुटबलको विकास गर्नु, स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने, र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता संयोजक एवम् मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्ट कवेले बताउँनु भयो ।
प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति गठन गरिएको छ । त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह रहेका छन । मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथी सत्कार समिति सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेका छन ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).