हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भादै २५ गते २०७९
    काठमाडौं महानगरपालिका र महानपासँग भगिनी सम्बन्ध भएका नपा र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलगायत ७५ जनाको समूहले शनिबार भक्तपुरमा अवलोकन भ्रमण गरेको छ । भ्रमणमा दरबार क्षेत्र, ङातापोल्हँ मन्दिर हुँदै पैदल यात्रा गर्दै तचपा टोल स्थित दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेको हो ।

काठमाण्डौको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका उक्त भ्रमण टाली शनीवार भक्तपुर आएको हो । टोलीलाई भक्तपुर नगरपालिकाले वडा नं. २ ब्यासीस्थित नगरपालिकाको सभाकक्षमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । स्वागत कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधिहरु कार्यरत रहेको बताउनुभयो । उहाँले भक्तपुर न.पा. मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको जानकारी दिनुहुँदै विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै आईरहेको बताउँनुभयो। भ.न.पा. संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ अगाडि बढिरहेको पनि नगर प्रमुख प्रजापतिले बताउनुभयो । उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको पनि बताउनुभयो । उहाँले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचन अनुसारको काम इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिदै जनप्रतिनिधिहरु बीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउनुभयो । 
    ‘आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार भइरहेका जानकारी दिदै उहाँले    जुनसुकै काम ठेक्कामार्फत गराउनु पर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको बताउनुभयो । 
    त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउनुहुँदै विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर नगरपालिका ज्वलन्त उदाहरणको रुपमा रहेको बताउनभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा पनि जोड दिनुभयो ।
    कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानपा—नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले मूर्त र अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको बताउनुभयो ।
    कार्यक्रममा उपप्रमुखको तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।उक्त भ्रमणमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानपासँग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफलगायतको उपस्थिति थियो । भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।
    भ्रमण टोलीका नगर प्रमुखहरुलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).