2022-08-13 13:08:37
महेश्वरी खेलमैदानमा रंगशाला निर्माण र सहिदस्मृति खेलमैदान स्तरोन्नति गर्ने विषयमा प्रदेश खेलकुदमन्त्री ढकालको भक्तपुर नपाले ध्यानाकर्षण गराएको छ ।
ख्वप श्रावण २८ गते २०७९
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाललाई भक्तपुरको महेश्वरी खेल मैदानमा रंगशाला निर्माण र सहिद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको छ । नगर प्रमुख प्रजापति र प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री ढकालबीच आइतबार नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा जिल्लाको खेलकुद क्षेत्रको विकास र खेलमैदान स्तरोन्नति गर्ने विषयमा छलफल भएको भक्तपुर नगरपालिकाले जनाएको छ ।
छलफलमाा मन्त्री ढकालले महेश्वरी खेलमैदानलाई रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्ड हलको रुपमा विकास गर्न नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रदेश सरकारले प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पु¥याउने पनि मन्त्री ढकालले बताउनुभयो । समाजवादउन्मुख अर्थतन्त्रको विकासमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै संघ, प्रदेश र देशका अन्य स्थानीय तहहरुको लागि भक्तपुर नगरपालिकाले गरिरहेको काम उदारणीय र सिक्नयोग्य भएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा जस्तै खेलकुद क्षेत्रलाई पनि तुलनात्मक रुपले अगाडि बढाउने प्रयत्न गर्दै आई रहेको जानकारी दिनुभयो । भक्तपुर नपाले नियमित ६ वटा खेलको प्रशिक्षण, विद्यालयहरुमा पूर्णकालीन खेल प्रशिक्षकहरुको नियुक्तिका साथै अन्तर नगर खेलकुद र अन्तर विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै खेलकुदलाई नागरिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नपाको ठाउँ ठाउँमा खेलकुद कभर्ड हलहरु निर्माणको क्रम जारी रहेको जानकारी गराउनुहुँदै महेश्वरीमा रंगशाला निर्माण र सहिदस्मृति खेलमैदानलाई कभर्डहलको रुपमा स्तरोन्नति गर्न प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने नगर प्रमुख प्रजापतिले अपेक्षा गर्नुभयो ।
उक्त समारोहमा ख्वप कलेज अफ इन्जिनियरिङका ई. अमिल प्रजापतिले मन्त्री ढकाललाई महेश्वरी खेलमैदान र सहिद स्मृति खेलमैदानको डिजाइन प्रस्तुतीकरण गर्नुभएको थियो । मन्त्री ढकाललाई नगर प्रमुख प्रजापतिले भादगाउँले टोपी र गलबन्दीले स्वागत गर्नुभएको थियो भने नपाका प्रकाशन पुस्तक र मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, कार्यपालिका सदस्यहरु, भक्तपुर जिल्ला खेलकुद परिषद्का अध्यक्ष दिपक थापालगायतको उपस्थिति रहेको थियो ।










0 Comments