हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण २५ गते २०७९
आज बुधवार मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को लागि नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको गत असार २० गते सम्पन्न छैंटौं नगरसभाले पारित नीति, बजेट तथा कार्यक्रममा पुस्तकको रुपमा सार्वजनिक गरेको हो ।
चालु आ.व.२०७९÷८० को लागि नगरपालिकाको बजेट एक अर्ब ७८ करोड, १० लाख ५० हजार रुपैंया रहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जसमध्ये चालु खर्चतर्फ ५९ करोड ५९ लाख ४४ हजार, वडागत योजना कार्यान्वयनका लागि २७ करोड ९ लाख, नगर स्तरीय योजना र सार्वजनिक निर्माण समेतका लागि ५७ करोड ६९ लाख ५६ हजार विनियोजन गरिएको पनि उहाँले जानकारी दिनु भएकोछ । 
कार्यक्रममा उहाँले विगतमा आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसवर्ष जेठ महिनाभित्र सबै योजनाको काम सम्पन्न हुने गरी वडा वडामा समेत योजना कार्यान्वयनमा लैजान वडाअध्यक्षहरुलाई निर्देशन दिनुभयो । चालु आर्थिक वर्षको विकास बजेटलाई सदुपयोग गरी समयमा नै विकास निर्माणका कार्य सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।
आफुहरु निर्वाचित भएर आएको दुई महिनामा नै चार वटा ऐन निर्माण गरी नगरसभाबाट पारित गरिएको बताउँदै नगरवासीलाई कुनै पनि रोगको उपचारका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाईटी भक्तपुरसँगको सहकार्यमा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको, नगरका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको पनि जानकारी दिनुभयो । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको रोगीहरुको लागि डायलासिस सेवा सञ्चालन अन्तिम चरणमा पुर्याएको, स्वबासी जग्गा दर्ताको लागि आवश्यक पहल गरिएको जस्ता जनमुखी कार्य अघि बढाएको पनि जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जना, सरसफाईलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम निर्माण गरेको र सोही अनुसार बजेटमा प्राथमिकताका साथ कार्यक्रम र योजना समावेश गरिएको बताउनुभयो । 
कार्यक्रममा अतिथिका रुपमा मञ्चमा बसेका निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पुर्व प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पुर्व उपप्रमुख मुरारीप्रसाद आचार्य, जिल्ला समन्वय समिति भक्तपुरका उपाध्यक्ष सुजाता बैद्य, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिलगायतले नगरपालिकाले सदैव जनतालाई केन्द्र विन्दुमा राखेर नीति निर्माण र योजना तर्जुमा गर्नुकासाथै सेवाग्राहीलाई न्यानो स्वागत सत्कारसहितको सेवा प्रदान गर्न र सधै जनताको सुख दुःखको सहयात्री भएर जनप्रतिनिधिले काम गर्नु भनी सुझाव दिनुभएको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).